समाचार

बी.पी.कोइरालाको समाजवादी सपना

बी.पी.कोइरालाको समाजवादी सपना

बसन्त कुमार उपाध्याय

बी.पी. कोइरालाले अख्तियार गरेको मेलमीलापको नीति हाम्रो समाजको मियों हो । कुनै कालखण्डमा त्यो राजनीतिक धरातल पनि रह्यो र रहि पनि रहनेछ । तर अहिलेको राजनीतिक सौदाबाजीमा मेलमीलापको विषय समाजबाट धेरै पर धकेलिएको महशुस हुन्छ । यति नै बेला फेरी बी.पी.को विचार खड्केको आभास हुन्छ । यसो हुनु फेरी अहिलेको समाजको उपज हो ।
बी.पी. कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उनको दिमागी संरचनामा जन्मेका विचार थिए अनि आवश्यकता पनि त्यही थियो । ति विचारहरुले उनको उच्च कोटिको दिमागी संरचनालाई प्रतिविम्वित गर्छन् ।

अस्तित्ववादी नेता कोइराला भावना शून्य विचारका पक्षपाति भने थिएनन् । कोइरालाका लिखित दस्तावेजलाई केलाउने हो भने यो सहजै बुझ्न पनि सकिन्छ । बाँच्नका लागी दर्शन आवश्यक पर्छ भन्ने मान्यता राख्ने कोइरालाले मर्नका लागी दर्शनको कुनै उपयोगीता नरहने विचार अघि सारेका थिए । त्यही विश्वासका साथ राजनीतिलाई जीवनको अभिन्न पाटोका रुपमा अघि बढाए ।

’नरेन्द्र दाई’ उपन्यासले मनोवैज्ञानिक धारलाई जबरजस्त उछालेको सेरोफेरोमा म फ्रायड पढ्न रुचाउने ब्यक्ति हुँ ।
जो बी.पी.कोईरालाको उपल्लो स्तरको रचना पनि हो ।

लेभी स्ट्रसले कतै भनेका छन कि –‘सामाजिक संरचनालाई अनुभवजन्य वास्तविकताका रुपमा लिन सक्नुपर्छ ।’ हो बी.पी.कोइरालामा उति नै बेला समाज र अनुभवजन्य वास्तविकतालाई ग्रहण गर्नसक्ने क्षमता थियो ।

लेभी स्ट्रस जो एक फ्रान्सेली मानवशास्त्री थिए ।

सामाजिक संरचना कुनै भौतिक अस्तित्वको अवस्था नभएर यो त विचारहरुको उत्पादन पो हो त । तर हाम्रो देशमा विभिन्न कारणले सामाजिक संरचना यतिबेला लगभग तगंभगं अवस्थामा पुगेका छन् ।
यति लेख्दै गर्दा मलाई विश्वेश्वरप्रसाद कोइराला (बी.पी.कोइराला) को सम्झना आउँछ । त्यो किन आउँछ भने मेरो पुस्ताले भौतिक रुपमा त देख्न पाएनौं तर सामाजिक संरचनामा उनको विचारलाई हामीले पढ्यौं । हाम्रा पुस्ताले कोइरालाका केही भिडियो अन्तरवार्ता,लिखित दस्तावेज,पुस्तक र भाषण मात्रै देख्न पाएका
हौं । यसैबाट अनुमान लगाउने कोसिस मात्रै हो आजको सन्दर्भ

प्रजातन्त्रको शुरुवाति स्थापनाका नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री भए उनि ।

समाजवादी विचारका एक प्रणेता थिए र हुन,कोइराला । लामो समय भारतमा निर्वासन जीवन विताएका कोइराला त्यहाँ अँग्रेज विरुद्धको भारत छोडो आन्दोलनमा समेत सक्रिय रहे । त्यही पृष्ठ भूमिले उनलाई प्रजातन्त्र स्थापनका लागी बल पनि मिल्यो । तर उनको समाजवादी उचाइका अगाडी कतिपय भारतीय नेतृत्व इर्ष्या पनि गर्दथ्यो ।

नेपालमा चलिरहेको जहानीया राणा शासनका विरुद्ध उनको भूमिका एउटा सुनौलो इतिहांस बनेर दर्ज छ । प्रजातन्त्रको स्थापनाका लागी जन स्तरबाट क्रान्ति आवश्यक भएको ठहर सहित कोइराला अघि बढेका थिए । तर क्रान्ति गर्दा हिंसाको बाटो सजिलो हुने भएपनि कोइराला हिंसाको बाटो अंगालेर क्रान्ति नगर्ने मान्यता बेला मौकामा मन खोलेर अघि सार्दथे ।

राजनीतिक बन्दीका रुपमा लामो समय जेल जिवन विताएका कोइरालाको लेखनमा सिग्मडं फ्रायडको प्रभाव झल्किन्छ । बी.पी. कोइरालाले नेपाली समाजका लागी देखेको एउटा मात्रै सपना समाजवाद थियो ।

फ्रायडको पुस्तक ‘इन्टरप्रटेशन अफ ड्रीम’मा भनिएको छ कि–‘हाम्रो अतृप्त इच्छाहरुको प्रतिविम्व नै सपना हो ।’ हो बी.पी.कोइरालाले पनि नेपाली समाजका लागी देखेको सपना सायद यस्तै थियो । अर्थात समाजवाद ।

फ्रायड र कोइरालाको लक्ष्य फरक भए पनि परिस्थिति उस्तै उस्तै थियो । हिटलरको अत्याचारका कारण फ्रायड बेलायत निर्वासनमा बस्नु पर्ने अवस्था आएको थियो । यता राणा र राजाहरुको बर्बरताका कारण कोइराला भारत निर्वासनमा बस्नु पर्यो । लक्ष्य फरक फरक र परिवेश अलग भए पनि फ्रायड र कोइराला बीच केही समानता पनि पाएँ मैले । जीवनको उत्तरार्धमा दुवै क्यान्सर पीडित पनि थिए ।

मैले वी.पी. कोइरालाले लेखेको कतै पढेको थिएँ –‘राजनीति चारैतीरबाट बन्द हुन्छ, तर कला चारै तर्फ खुल्ला ।’ निर्वासनका दौरान सायद त्यो अनुभुति आयो होला भन्ने म अनुमान लगाउँछु । सन् १९३४ देखि भारतीय राष्ट्रिय काँग्रेसमा आवद्ध थिए । दार्जिलिङ्गमा वकालत गर्दै विहारमा उनि राजनीति गतिविधिमा सक्रिय थिए । सन् १९४२–४४ ताका ब्रिटिस सरकारले कोइरालालाई समेत फौजमा जवरजस्ति भर्ना गराएको थियो । जेल मुक्त भएर फर्किएपछी आफ्ना समर्थकहरुका साथमा कोइरालाले काँग्रेस पार्टीको विउ रोपेका थिए । वि.सं. १९८८ मा ब्रिटिसले कैद गरेर महिनौं राख्यो ।
सन् १९५० मा एशियन सोसलिष्ट एशोसिएसन स्थापना गर्दा कोइराला प्रेसिडेन्ट भए । सोसलिष्ट एशियाका समाजबादी राजनीतिक दलहरुल सन् १९५३ मा बर्माको यांगुनमा पहिलो एशियन सोसालिष्ट सम्मेलन समेत आयोजन भयो । त्यो सम्मेलनले एशियन बिशेषताको समाजबाद शिर्षकमा प्रस्ताव पारित गरायो । सोसलिष्ट इण्टरनेशनलको अध्यक्ष भएका कोइरालाको सम्बन्ध विश्व स्तरमा चर्चामा रह्यो ।

सैद्धान्तिक रुपमा साम्यवादमा प्रजातन्त्र थप्यो भने समाजवाद हुन्छ अनि समाजवादबाट प्रजातन्त्र झिकीदियो भने साम्यबाद हुन्छ भनेर कोइरालाले सहज भाषामा आफ्ना समर्थकहरुलाई वणारसमा छँदा बुझाउने गर्दथे ।

मेरो हाईपोथेसिस नै भन्छु; भारतमा बस्दा त्यहाँका शासक र राजनीतिज्ञहरुबाट पनि थिचोमिचो सहनु पर्दा उनमा त्यो विचार आयो होला । त्यसैले उनले जीवनको अर्को बाटो पनि पैलाए । त्यो थियो साहित्य ।
मलाई फेरी कतै पढेको सम्झना आयो कोइराला सानै उमेर देखी पश्चिमा जगतका पुस्तक खुबै रुचिका साथ पढ्ने गर्थे भन्ने कुरा । अध्ययनले नै मानिसको ब्यक्तित्वलाई निखार्छ भनेको साँच्चि कै हो भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन कोइराला ।

बी.पी. कोइरालाका साहित्यीक कृतिहरु श्वेत भैरवी,नरेन्द्र दाई,सुम्निमा,तीन घुम्ती,दोषी चस्मा,जेल जर्नल र आत्म कथा चर्चित छन् । तर उनको हिन्दी लघु कथा ‘वहा’ मा गजवको सरलता छ । प्रेम चन्द जो हिन्दुस्तानका चर्चित ब्यक्तित्व हुन,उनकै पत्रिका हंसमा कोइरालाको लघु कथा हिन्दी भाषमा पहिलो पटक प्रकाशित भयो । यता शारदा पत्रिकामा प्रकाशन भएको पहिलो रचना ‘चन्द्रवदन’ थियो ।
तर विडम्वना नै लेख्नु पर्छ कोइराला संस्थापक रहेको नेपाली काँग्रेस यतिबेला गनतब्य विहिन पार्टी झैं गठबन्धनमा मुर्झाउनु परेको छ । अनि महाधिवेशन हुन सकिरहेको छैन् ।

नेपालमा प्रजातन्त्र स्थापनामा महत्वपुर्ण भूमिका निर्वाह गरेका जननायक कोइराला सहितका मूर्धन्य ब्यक्तित्वहरुको योगदानमा खुलेको देशकै पुरानो राजनीतिक दल यतिबेला नेपाली समाजको ऐना बन्न सकिरहेको छैन।

प्रजातन्त्रमा सामाजिक न्याय र आर्थिक समानताका लागी भूमिगत,सडक,सदन,सत्ता र निर्वासन जस्ता सबै मोर्चामा कोइरालाको सक्रिय सहभागिता थियो ।

एउटा मानिसले उस्को संसारलाई उस्कै दिमागी संरचनाका आधारमा नै बुझ्न गर्दछ । मैले पनि बी.पी. कोइरालालाई त्यही आधारमा बुझ्ने प्रयास गरें । आशा गरौं उनै कोइरालाले देखेको समाजवादको सपना कुनै दिन अवश्य पुरा हुनेछ । फरक यति छ कि त्यो समय कहिले आउला ।
कोइरालाको स्वास्थ्य हेरचाहमा खटिएका डा.रामवरण यादवले एक दिन सुनाएका थिए–’ सान्दाजुमा अरु त के के थियो थियो तर अदम्य साहस अचम्मको थियो ।’ डा.यादव जो गणतन्त्र नेपालका प्रथम राष्ट्रपति समेत भए ।

नेपालका २२ औं प्रधानमन्त्री भएका कोइरालाको क्याविनेट वि.सं. २०१६ समावेसी र चुस्तदुरुस्त थियो । वि.सं. १९७१ भदौ २४ गते जन्मिएका कोइरालाको वि.सं.२०३९ साल साउन ६ गते क्यान्सर रोगबाट ग्रसित भएर निधन भएको थियो ।
गुण र दोष सबै ब्यक्तित्वमा नै हुन्छ । ’दोषी चस्मा’ बाट कोइरालाले आफ्नो साहित्यको उचाई बढाएको पाउँछु ।

राजनीति, धर्म–दर्शन, चिन्तन, विश्व समुदायको विचरण र ध्रुविकरणका विषयमा कोइरालाका मनतव्य र लेख दस्तावेज उच्च राजनीतिक तहका छन् ।
आत्मवृत्तान्त र जेल जर्नल लगाएतका उनका रेकर्डेड दस्तावेजबाट बनेका ऐतिहासिक पुस्तक चर्चित छन् ।
तत्कालिन दरवार,राजा र तिनका नजिककाहरुले त कोइरालालाई दशद्रोही नै ठाने तर इतिहांसमा उनि जनताका हितमा काम गरेका जननायक भएर स्थापीत भए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button