समाचार

महाधिवेशन,विशेष महाधिवेशन र म्याद थप

राजनीतिक दलका केही सिमित अनुहारका हातमा घेरावन्दिमा परेको गणतन्त्रलाई आम नागरिकले उपभोग गर्ने अवसर नपाएको भन्ने व्याख्या भईरहेको छ । नेपालको राजनीति सफा गोरेटोमा फर्किएला कि थप गिजोलिएर व्यवस्था नै शंकटग्रस्त होला ? यो आम जनचासोको विषय बन्दै गईरहेको अवस्था छ ।
यसबीच देशको पुरानो पार्टी नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले क्लिन पोलिटिक्सका कुरा उठाए । पुराना दलहरुलाई लक्षित गरेर विकल्पका शक्ति भनिनेहरुबाट चुनौतिको भाष्य निर्माण गरिरहँदा डा.कोइरालाले नेपालको विकसति राजनीतिक परिदृश्यमा सफा राजनीतिको वहस छेडेका छन् ।
नेपाली काँग्रेस यतिबेला आन्तरिक ध्रुविकरणको चरमता उन्मुख छ । नेतृत्व संसद ब्युँझाउन केन्द्रित रहेको आरोप छ भने तल्लो तहका कार्यकर्ताहरुको असन्तुष्टि उपल्लो नेतृत्व प्रति केन्द्रित देखिन्छ । देशमा व्यवस्था परिवर्तन र हिन्दू राष्ट कायम हुनुपर्ने आवाज चर्किन थालेको छ । यसबीच एक महिना देखि काँग्रेसको केन्द्रिय समतिकिो बैठक चलिहेको र फेरी स्थगीत भएको अवस्था छ ।
आफ्नै दलका नेताहरुको कार्यशैलीले कार्यकर्ता कुन नेताका पछी लागेर आफ्नो राजनीतिक भविष्यको स्थान कहाँ र कसरी सुरक्षित होला भन्ने कुरामा विभक्त छन् । तर यसो भएको घट्ना पहिलो पटक भने होईन । संस्थापक नेता बी.पी.कोइरालाको देहान्त पछी काँग्रेसमा यस्तो विचलन शुरु भएको थियो । नेता त्रय कृष्ण प्रसाद भट्टराई,गणेशमान सिंह र गिरिजा प्रसाद कोइरालाले त्यो रिक्तता भर्ने प्रयास गरेका थिए । यद्यपी त्यहींबाट फेरी गुटको चरमता बढेको हो ।
काँग्रेस अहिले आफ्नै महाधिवेशन विधानको समय सिमा भित्र हुन्छ वा हुँदैन भन्ने सकसबाट गुज्रिरहेको देखिन्छ । नेपाली काँग्रेस भित्र आसन्न १५औं महाधिवेशन निर्धारित समय मै हुन्छ वा हुँदैन भन्ने विषयमा फरक फरक धार विभक्त छ । संस्थापन पक्ष महाधिवेशन अनुकुलताको खोजिमा देखिन्छ । काँग्रेस भित्रको इतर समुह विशेष महाधिवेशन र महाधिवेशन हुनुपर्छ भन्ने विषयलाई देशभरका कार्यकर्ता माझ राख्दै आईरहेको छ । इतर भित्र पनि फरक गुटको विजारोपण भएको देखिन्छ । संस्थापन पक्ष पनि विभक्त छ।
नेपाली काँग्रेसमा आसन्न १५ औं महाधिवेशन कहिले हुने हो भनेर संशय छ । देशको सबैभन्दा पुरानो राजनीतिक दल पार्टीको सक्रिय सदस्यता नविकरण र नयाँ सदस्यता दिने प्रक्रियालाई व्यवस्थित गर्न सकिरहेको छैन् । काँग्रेसको केन्द्रिय महाधिवेशन हुनलाई वडा,क्षेत्र र जिल्ला हुँदै प्रदेश अधिवेशन समयमै समपन्न गर्न गर्नुपर्छ ।
अवसर र चुनौति काँधमा बोकेर हिंडेको छ काँग्रेस । तर नैतीकताको कसिमा काँग्रेसको धरातल कम्जोर हुँदै गईरहेको देखिन्छ। वि.सं. १९९५ को नेपाल नागरिक अधिकार समिति र वि.सं.१९९७ को प्रजापरिषदको गतिविधिलाई राणा शासनबाट चरम दमन गर्दैगर्दा नेपाली जनता स्वतन्त्रता र न्यायको खोजिमा संर्घषरत थिए । नेपाली काँग्रेसको जग स्थापना त्यहींबाट भएको थियो । तर प्रजातन्त्रको पुर्नस्थापना र गणतन्त्रमा पुगिसक्दा स्थापनाकालको सिद्धान्तनिष्ठ काँग्रेस लगभग पतन भईसकेको अवस्था छ । आप्‌mनै पार्टीको विधि र प्रक्रियामा चल्न नसकेको काँग्रेस भित्रबाट क्लिन पोलिटिक्सको अवधारण आउँदा आम नागरिकले सजिलै पत्याउलान त ? यो प्रश्न डा.शेखरलाई प्रत्यक्ष रुपमा घोच्ने छ । तर स्थापनाकालको काँग्रेसको पदचापमा काँग्रेलाई फर्काउने डा.कोइरालाको क्लिन हुटहुटी भने मन छुने खालको छ । के त्यो अहिलेको काँग्रेसबाट सम्भव होला त ? यो प्रश्नले डा.कोइरालालाई काँग्रेस भित्रको राजनीतिमा कहाँ लैजाला ? तमाम प्रश्न उठ्दै जाने छन् ।
सरसरती नेपाली काँग्रेसको इतिहासलाई फर्केर हेर्ने हो भने केही सन्दर्भ र विषयलाई समेट्नै पर्ने हुन्छ । अत्यन्तै लोकप्रिय रहेका नेता बी.पी.कोइरालाले रोजेका महामन्त्रीहरु डा. तुल्सि गिरि र विश्वबन्धु थापा समेत आफ्ना नरहेको घट्नालाई काँग्रेस भित्रको दूरुभाग्यपुर्ण दृष्टान्त घट्नाका रुपमा लिन सकिन्छ । जहाँबाट जन निर्वाचित प्रधानमन्त्री कोइराला कम्जोर बन्दै गएका थिए ।
वि.सं.२००३ कात्तिक १५ गते भारतको वनारशमा अखिल भारतीय नेपाली राष्टिय काँग्रेस गठन भएको थियो । संस्थापक विश्वेश्वरप्रसाद कोइरालााको संयोजकत्वमा कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई र इश्वर बराल सदस्य रहेको उक्त संगठनको सामूहिक अध्यक्षता सुब्बा देविप्रसाद सापकोटाले गरेका थिए । त्यसरी नेपालको राजनीतिमा त्यही संगठन नै बलियो राजनीतिक संगठनका रुपमा उदाएको थियो । त्यसकोे निरन्तरता आजको नेपाली काँग्रेस हो ।
भारतको कलकत्ता स्थित भवानिपुरमा भएको २००३ सालको महाधिवेशनले नेपालको राजनीतिलाई अगाडी बढाएको थियो । त्यही सेरोफेरोमा बिराटनगरमा मजदुर आनदोलनको शुरुवात भएको थियो । त्यो आन्दोलनलाई नेपालको प्रजातन्त्रको सकारात्मक मूभ समेत भनिन्छ । वि.सं. २००४ साल सम्म आइपुग्दा मजदुर आन्दोलन र सतयाग्रहको प्रभाव भारतको वणारशमा दोश्रो महाधिवेशन भएसँगै काँग्रेस संगठनात्मक रुपमा अघि बढ्न थाल्यो । तत्कालिन राणा शासकहरुले रोक्न गरेका अनेकन प्रयासहरु असफल भएका थिए । त्यस लगत्तै २००५ सालमा भारतको दरभंगामा काँग्रेसको तेश्रो महाधिवेशन सम्पन्न भयो । तर वी.पी.कोईराला पक्राउ परेपछि त्यो महाधिवेशनका लक्ष्यहरु पुरा गर्न काँग्रेसलाई अप्ठेरो अवस्था आयो । त्यही सेरोफेरोमा मातृकाप्रसाद कोईरालालाई कार्यवहाक सभापति पनि बनाइयो । त्यहींबाट देशभरी काँग्रेसको संगठन भने मजबुत बन्यो । काँग्रेसमा कोइरालाको विकल्पमा अर्का कोइराला नेतृत्वमा थिए ।
​२००६ चैत्र २७ गते कलकत्ताको चर्चित टाइगरहल महाधिवेशनबाट नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको एकिकरणबाट बनेको दल विधिवत नेपाली काँग्रेसका नामले स्थापना भयो । त्यसको नेतृत्व मातृकाप्रसाद कोईरालाले गरे । ००७ सालको पूर्व तयारीमा बनेको त्यही संगठनले नेपालको राजनीतिक सत्ता समेत लामो समय सञ्चालन गरेको हो । नेपाली काँग्रेसको २००९ सालको जनकपुर महाधिवेशन,२०१२ सालको वीरगञ्ज महाधिवेशन, र २०१४ सालको बिराटनगर महाधिवेशनहरुले वी.पी. र मातृका कै वरीपरीको नेतृत्वमा फन्को मारेको थियो । जब २०१७ सालको राजाको प्रत्यक्ष शासनले वी.पी. कोईराला सहित देशभरबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका हुन् । त्यो परिवेश नेपालको अवस्था निकै कठीन बन्न पुग्यो । झण्डै ३१ वर्ष पछि ०४८ सालमा भएको झापाको कलवलगुडि ८औं महाधिवेशनले काँग्रेसको संगठनलाई फेरी एकपटक मजवुत बनायो । नेतृत्व समेत परिवर्तन भयो । ०४८ सालकै पार्टीको संगठनले काँगे्रसलाई ०७०को संविधानसभा सम्म बचाइ राख्यो भन्न सकिन्छ । यसबीचमा भएको माोवादीको सशस्त्र युद्ध र एमाले,राप्रपा र मधेश केन्द्रित लगाएतका दलहरुको सक्रिय गतिविधिले काँग्रेसको संगठनात्मक अवस्था निकै कम्जोर हुँदै गयो । यद्यपी ०७० को निर्वाचलने काँग्रेसलाई एकपटक फेरी पहिलो दल बनायो । त्यसकै जगमा नयाँ संविधान समेत जारी भयो । त्यसयता शेरबहादुर देउवा नेतृत्वमा रहेको काँग्रेस आप्‌mनै संगठनात्मक गतिविधिमा फितलो देखियो । पार्टीका मुख्या मुख्य भातृ संगठनहरुमा चुनाव हुन सकेको छैन । विधान अनुसार केन्द्रिय समितिको बैठक लगाएत अन्य गतिविधि सहज अघि बढेका देखिंदैनन् । काँग्रेस सत्ताको अघिपछी कहिले कुन दल त कहिले अर्को दलको सत्ताको भर्यागं भईरहेको अवस्था छ ।
​नेपाली काँग्रेसको २०५३ सालमा सम्पन्ने नवौं महाधिवेशन पछि काँग्रेस आन्तरिक कलह,विवाद र सत्ताको खेलमा सिमित हुँदै गर्दा देशमा प्रजातन्त्र नै कम्जोर बन्यो । आफ्‌नै दलको नेतृत्वमा रहेको सरकार ढल्यो र ढालियो । पार्टी विभाजन भएपछि संगठन लगभग ध्वस्त भयो । फेरी राजा सक्रिय भए । काँग्रेस पार्टी विभाजित भयो । ९औ महाधिवेशन देखि १२औं सम्म पुग्दा संगठन निकै कम्जोर अवस्थामा पुग्यो । ०५६ सालमा कृष्ण प्रसाद भट्टराईको सफा छविलाई अघि सारेर काँग्रेसले आँफुलाई पुर्नताजगी गरेको थियो ।त्यस यता काँग्रेस फेरी आन्तरिक चरम गुटवन्दिको शिकार भईरहेको देखिन्छ । संगठन कम्जोर हुँदा माओवादीको राप र तापका अगाडि काँग्रेस कम्जोर भएको उदाहरण हो संविधानसभाको पहिलो निर्वाचन ०६४मा दोश्रो दलमा सिमित हुन पुग्नु ।
नेपाली काँग्रेसको इतिहांसलाई सम्झने हो भने १३ औं महाधिवेशन देश र परिस्थिति सुहाउँदो सबैलाई समेटनेगरी संगठन विस्तार मूल एजेण्डा बनाएर अघि बढ्नुपर्ने थियो । १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा कोईराला परिवारको नेतृत्व संकटमा थियो । पार्टी नेतृत्व गर्नमा सशांक, सुजाता र शेखर तिनै जना असफल रहे । तर १४ औ महाधिवेशनको संघारबाट डा.शेखर कोइराला नेतृत्वका लागि सक्रिय भएर उदाए । कोइराला परिवारको लिगेसी मात्रै नभई समय सुहाउँदो पार्टी बनाउने उनको गृहकार्य चलि नै रहेको छ । पछिल्लो पटक सभापतिमा पराजित भए पनि डा.कोइराला अनवरत देशभरीका कार्यकर्ताहरु माझ पुग्ने गरिरहेका छन् ।
तत्कालिन पार्टी सभापति सुशिल कोईरालाको कार्यकालका विषयमा विभिन्न विषयमा आरोपहरु लाग्ने गर्दथे । खासगरी पार्टीमा पर्याप्त छलफल नहुने,गर्नु पर्ने नियुक्ति समयमै गर्न नसकेको आरोप र भातृ संगठनलाई अधिवेशन नगराएर तदर्थ समितिबाट सञ्चालन गरेको आरोप जर्वजस्त थपिएका थिए । संविधानसभामा टिकट बाँडफाँड र समानुपातिक उमेदवार छनौटमा पक्षपात भएको देखि प्रधानमन्त्री भएर बालुवाटारमा आफ्‌ना परिवारका व्यक्तिलाई राखेको सहित सरकारको कार्य शैलिका विषयमा केन्द्रिय समितिमा चर्को विरोध खेप्नु परेको थियो । त्यसका अलावा पुराना नेता तथा कार्यकर्ताहरुको चाहना र समस्यालाई नजर अन्दाज गरेको समेत आरोप उनिमाथि लाग्यो । तर क्लिन छविका कारण कोइरालाले देशलाई संविधान बनाउने अभिभारा पुरा गरेर देखाए । विडम्वना अहिले पनि काँग्रेस भित्र सभापति शेरबहादुर देउवा यीनै आरोप खेपी रहेका छन् । जति नै विरोध भएपनि कोइरालाले देउवालाई वरिष्ठ नेता भनेर स्थान दिएकै थिए । तर सभापति देउवाले डा.कोइरालालाई प्रतिष्पर्धा गरेको आधारमा त्यो उदारता देखाउन सकेनन् । भलै यो विषय अहिले उति धेरै चर्चामा छैन् । बेलाबखत काँग्रेसका आन्तरिक मञ्चहरुमा यो विषय चर्को स्वरमा उठ्ने गर्छ ।
​पार्टी भित्र संस्थापन पक्ष बन्न झण्डै २० वर्ष खर्चिएका देउवाले ४० प्रतिशत भागवण्डामा आफ्‌नो भूमिका सहित भाग लिएर अघि बढ्ने नीति बनाएका थिए । त्यसकै जगमा देउवा दुई पटक सभापतिमा निर्वाचित पनि भए । तर अब त्यो शक्ति विखण्डन हुने अवस्था आएको देखिन्छ । जसरी सुशील कोइरालाको देहान्त सँगै कोइराला समूह विभाजनमा परेको थियो ।
कोईराला परिवारको वर्चश्व नेपाली काँग्रेसको पृष्ठभूमि निकै महत्वपूर्ण रहँदै आएको छ। तत्कालिन अवस्थामा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकता भारतको कलकत्तााको टाइगरहलमा महाधिवेशनमा हुँदा नेपाली काँगे्रसको स्थापनाकालका महामन्त्री रहेका महेन्द्रविक्रम शाह नेतृत्वमा स्थापीत हुन सकेनन् । त्यसरी नै महामन्त्री भएका डां शशांक कोइरालाले अघिल्लो महाधिवेशनमा नेतृत्व दावि गर्न सकेनन् । त्यतिबेला मातृकाप्रसाद कोइरालाले पार्टीको नेतृत्व गरेका थिए । अहिले देउवाले ।
नेपाली काँग्रेस कछुवा गतिमा भएपनि महाधिवेशन केन्द्रित हुनै पर्ने देखिन्छ । त्यसको आधारका रुपमा २ महामन्त्रीहरुका अभिव्यक्तिहरुलाई लिनुपर्ने हुन्छ । काँग्रेस भित्र पुरानो एउटा खेमा नेताहरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका अनुयायी भन्नेहरु अर्का तर्फ गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाका अनुयायीहरु बीच नयाँ ध्रुविकरणका चरणहरु चलिरहेका छन् । हुन त अघिल्ला २ महाधिवेशनमा त्यस्ता खेमा भत्किएका पनि हुन । उदाहरणका लागि कृष्णप्रसाद सिटौला र डा.शंशाक कोइरालाको पछिल्लो रणनीतिलाई लिन सकिन्छ ।
काँग्रेसभित्र फेरी केही नयाँ समिकरण केन्द्र देखि जिल्ला सम्म बन्ने सम्भावना समेत बढेको देखिन्छ । संस्थापन पक्षका सुपरिचित अनुहारहरु नयाँ बन्ने केन्द्रिय समितिमा सुरक्षित अवतरणका लागि प्रयासरत देखिन्छन् । काँग्रेसमा सबै भन्दा पेचिलो विषय नयाँ सक्रिय सदस्यता वितरण र पुराना सदस्यता नविकरण नै हो । त्यसकै जगमा केन्द्र सम्म मतदान गर्ने मतदाता उत्पादन हुने भएकाले सबै समुह त्यहाँ आ आफ्नो वर्चश्व कायम राख्न चाहन्छन् । न कि निष्पक्ष ढगंले सदस्यता वितरण र नविकरण नै हुन्छ ।
काँग्रेसमा मुल शक्ति भनेको सभापतिसँग रहन्छ । महामन्त्री पद पनि अर्को शक्ति हुन्छ । यतिबेलाको शक्ति सन्तुलनमा २ महामन्त्री र सभापति फरक फरक गुटबाट निर्वाचित भएको पृष्ठभूमी छ । तर महामन्त्री दुवैको आफ्नो स्थायी गुटमा टिक्न नसक्ने अभ्यासले दुवै महामन्त्रीले कस्तो समुहको निर्माण गर्न खोज्दैछन कार्यकर्ताहरुमा असमञ्जस्यता प्रष्टै देखिन्छ । दुवै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा युवाहरु माझ लोकप्रिय पात्र हुन । तर आम नागरिकको नजरमा उनिहरु पनि काँग्रेस नै हुन् ।
एउटा पुरानो राजनीतिक दल भित्र समस्या रहनु एउटा पक्ष हो । समस्याको समाधान दिनु नै नेतृत्व क्षमता पनि हो । नेतृत्वमा रहेका र नेतृत्वमा जाने आकांक्षा राख्नेहरुमा काँग्रेसलाई क्लिन पोलिटिक्समा लैजाने हुटहुटी हुनै पर्छ । नेपालमा पछिल्लो पुस्ता जसरी राजनीतिक दलहरुबाट केही पनि हुन नसकेको भाष्यलाई आत्मसाथ गरिरहेका छन उनिहरुलाई सम्बोधन गर्न पनि सफा राजनीतिको नयाँ गोरेटो कोर्न सक्नुपर्छ ।
सभापति देउवाको वहिरगमन सँगै पुरानो पार्टी सत्ता एकपटक फेरी भत्कने अवस्था आउने देखिन्छ । नेतृत्व विदा भईरहँदा नयाँ नेतृत्वमा पुग्ने चाहना राख्नेहरु कार्यकर्ताहरु माझ सफा अनुहारले पक्कै अर्थ राख्ने छ । काँग्रेस भित्र डा.कोइरालालाई क्लिन पोलिटिक्स गर्ने अवसर आउने सम्भावना उत्तिकै छ । यद्यपी कोइराला लिगेसी र व्यक्तित्वको उचित व्यवस्थापन डा.कोइरालाका लागि अवसर र चुनौति दुवै उनका अगाडी छर्लगं छन् ।
अनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का निर्णय लिन नसक्ने अवस्थामा पुगेको देखिन्छ । विदेशमा उपचार गराएर फर्किएका सभापति देउवा फेरी एकपटक पार्टी गतिविधिमा सक्रिय भएका छन् ।
इतरका विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर अनि संस्थापनका समेत विभक्त समुह अहिले आ आफ्नै अडानमा देखिन्छन् । संस्थापन पक्ष कार्यसमितिको मयाद थपेर अनुकुलता खोज्दै गरेको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button