विचारसमाचार

नेपाली काँग्रेसः आत्माको ढुकढुकी र मस्तिष्कको चाल फरक

नेपाली काँग्रेसः आत्माको ढुकढुकी र मस्तिष्कको चाल फरक

बसन्त कुमार उपाध्याय

’लोकतन्त्र भनेको विचार हो, जसमा असहमतिको अधिकार सुरक्षित रहन्छ।’ संस्थापक मध्येका एक बी.पी.कोइरालाले भनेका थिए ।

आजको नेपाली काँग्रेस विभित कारणले आफ्नै लोकतन्त्रिकरणको बोझले ओथारो पसेको छ ।

दोषारोपण र अधिकारको लडाइँ भित्र फाकिलो काँग्रेस खुम्चिएको महशुस गर्न सकिन्छ । लोकतन्त्रको विरासतको भारीले काँग्रेसको आन्तरिक लोकतन्त्र सत्ताको व्यापारमा सिमित भईदिंदा ठुलो तप्का नाक खुम्च्याउँदै सुरक्षित अवतरणखोजिरहेका छन् ।

बी.पी.कोइरालालाई फाँसि हुनुपर्छ भन्ने माग राखेका कुनैबेलाका पञ्चका नायक सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई राष्ट्रिय सभा सदस्य बनाएको काँग्रेमा यो पनि लोकतान्त्रिककरणको उपलब्धि मानिन्छ होला ।

सिद्धान्त,नीति,विधान र आवश्यकताको खँदिलो विषयले नेपाली काँग्रेस अप्ठ्यारो घुम्तिमा छ । नियतले हो वा परिस्थितिले काँग्रेस खहरे खोला झैं उर्लने र सामसुम हुने नियतिबाट गुज्रँदै छ। 

सभापति शेरबहादुर देउवा दाहिने हुने आशामा केही छन भने केही सभापति देउवाको वायाँ नभएपनि अघि बढ्ने तयारीमा । अनि भविष्यका विषयमा काँग्रेस अलमल परेको अवस्था छ ।

हवाला विधानको छ अनि नियत पार्टी सत्ता केन्द्रित छ । यी गतिविधि उहिल्यै देखिका पुर्ख्यौलि विषय नै हुन् । ति जुनसुकै समुहका नाममा भईरहेका किन नहुन् ।

नेपाली काँग्रेसको नियमित महाधिवेशन हुन नसकेको अवस्था जगजाहेर नै छ । त्यसको पृष्ठभूमीमा संस्थापन पक्षले अघिल्ला सभापतिहरु झैं एक बर्ष म्याद थप्ने सोंचबाट अघि बढेको थियो । तर काँग्रेसको इतर पक्ष नियमित महाधिवेशन गराउने विषयमा केन्द्रि रहँदै आईरहको थियो । उसो त इतरको भित्तालाई प्वाल पार्न संस्थापन पक्षले अपनाएको रणनीति आँफैमा सफल रह्यो । यद्यपी निकास निस्कन सकिरहेको अवस्था छैन् ।

पछिल्ला केही बर्षहरुमा कांग्रेसभित्र संगठनात्मक पुनर्जागरणको आवाज लगातार उठिरहेको विषय हो ।

अघिल्लो महाधिवेशनको संघारमा उतिबेलाका काँग्रेससभापतिका एक दावेदार नेता रामचन्द्र पौडेलले(हाल राष्ट्रपति) लेखेका थिए–’आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ ।’

काँग्रेसको विगतलाई फर्केर हेर्नु र भविष्य खोज्नुमा अहिलेको अवस्थामा भयंकर ठुलो खाडल देखिन्छ । वि.सं.२०७५ सालको महासमिति बैठकामा तात्कालिन उप सभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको दस्तावेजमा निधले लेखेका थिए–’नयां पुस्तालाई नेपाली कांग्रेसका आदर्श, सिद्धान्त, आचरण र कर्मवारे अझ जानकार गराउनु आवस्यक छ ।’

आजको काँग्रेसमा आत्मा विपी कोइराला, सुवर्ण शंशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, सि.के. प्रसाई, रामनारायण मिश्र, बलबहादुर राई, शेख इद्रिश, धनमानसिंह परियार, मंगलादेवी सिंह, शैलजा आचार्य, नोना कोइराला, भीमबहादुर तामाङ लगाएतका अघिल्ला पुस्ताहरुको ढुकढुकी भेट्न मुस्किल छ ।

गएकोमहासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको एक दस्तावेजमा नयाँ दलहरुलाई केन्द्रित गरेर लेखेका छन्–’पुनरुत्थानको कुचेष्टा गर्ने शक्तिहरू ।’ हाल उनै खड्का कार्यवाहक सभापति छन । खड्काले वदलिंदो परिवेशलाई हेर्ने नजरियामा भदौ २३ र २४ लाई समिक्षा गरिरहेका होलान भन्ने लख काट्न सकिन्छ ।

पार्टी ध्रुविकरणको यो मोडमा पुग्नु अघि नै महासमिति बैठका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दस्तावेजमा लेखिदिए–’उग्र राष्ट्रवाद र निराशालाई उपयोग गरेर राजनीतिक रोटी सेक्ने प्रयास भइरहेको छ।’महामन्त्री शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदन फेरी पढ्न काँग्रेजनलाई सुझाउँछु ।

काँग्रेस भित्र ’मिनि महाधिवेशन’ भनेर चिनिने महासमिति बैठकमा उतिबेला अर्का महामन्त्री गगनकुमार थापाले देशमा पश्चगामी र लोकप्रियतावादी शक्तिले फणा उठाउन खोजेको उल्लेख गरेका थिए। भदौ २३ र २४ जेन जेड आन्दोलनको जगलाई केलाउन जरुरी देखायो । महामन्त्री थापाले थप अघि बढेर लेखिदिए–’मुलुकलाई पुनः पछाडि धकेल्न चाहने सबै शक्ति र प्रवृत्तिलाई पराजित गर्न पनि नेपाली कांग्रेस पार्टीभित्र र बाहिर दुवैतिर उही पुरानै उत्साहको ऊर्जा चाहिएको छ।’

नेपाली कांग्रेसले विसं २०७८ मङ्सिरमा १४औँ महाधिवेशन भएको नेपाली काँग्रेसले आफ्नो नियमित कार्यकाल पुरा गरेको अवस्था छ । त्यसकारण नयाँ नेतृत्व र नयाँ कार्यक्रम काँग्रेसका लागि प्राणवायु हो । तर यो अवस्थाम काँग्रेसको अल्पमतको आत्माले एउटा कुरा भनिरहेको छ भने बहुमतको मस्तिष्कले बेग्लै धारणा दर्शाएको देखिन्छ । काँग्रेसको केन्द्रिय समितिको बहुमतको मस्तिष्क चाल र काँग्रेसका अधिकांश महाधिवेशन प्रतिनिधिको आत्माको ढुकढुकी फरक पर्न गएको अवस्था छ । यो दुविधामा काँग्रेस संक्रमण व्यहोर्दै छ । संक्रमणकाललाईसमयमै व्यवस्थित गर्न सक्नुपर्छ ।  नसके संक्रमणले भयानक रुप लिएर रोग बढाउने निश्चित रहन्छ ।

काँग्रेसलाई गैर काँग्रेसको भासमा लैजाने कि सहि दिशा दिन सक्ने भन्ने चुनौति काँग्रेसको सामुहिक नेतृत्वका अघिल्लतिर छ । त्यसका लागि महाधिवेशन अपरिहार्य हो । अनुकल अवस्था होस वा प्रतिकुल परिवेश महाधिवेनबाट काँग्रेस पन्छिन पाउँदैन् । अनि कार्यकर्ताले नेताको मूल्याङ्कन गर्ने हैसियत पनि त्यही महाधिवेशनले दिलाउँछ ।

काँग्रेसका विषयमा धेरै कुरा र घट्नाहरु पब्लिक डोमेनमा दर्ज 

छन् । समिक्षा र विष्लेशनको गुञ्जायस छैन् । घट्नाक्रमले काँग्रेस फुट र जुटबाट यहाँ सम्म आएकै हो । तर परिवेश कस्तो थियो,नतिजा कस्ता आए भन्ने मुल पाठ हुनुपर्छ । 

सम्झनै पर्ने हो भने राम्रा प्रयास सम्झौं,खराव अभ्यासलाई दोहोर्याईनु हितकर हुँदैन् । गिरिजा प्रसाद कोइरालाले विगतमा बोलाएको भेलाम सभापति कृष्णप्रसाद भट्टराईले निभाएको भूमिका स्मरण गरुन काँग्रेसजनहरुले । होईन भने शेबहादुर देउवाले बोलाएको भेलाले पार्टी फुटको तितो यथार्थ फर्केर हेरुन । यी दुई घट्ना अघि मातृकाप्रसाद कोइराला र प्रजापरिषद सम्झे हुन्छ ।

पछिल्लो पटक फुट ब्यहोर्दाको घट्नलाई केलाउँदा हुन्छ ।

प्रसंग २०५९ असोज पहिलेको हो । नेपाली कांग्रेस भित्र चरम मतभेद थियो । शेरबहादुर देउवा पक्षधरले महाधिवेशन प्रतिनिधिहरु काठमाडौं बोलाईरहेको अवस्था थियो ।  नयाँ बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा कार्यक्रम तय पनि भयो । केन्द्रमा नाम कहलिएका नेताहरु कसको पक्षमा लाग्ने भन्ने दुविधामा थिए । त्यसैबीच रामचन्द्र पौडेल र शेरबहादुर देउवा बीच  सहकार्य गर्ने तय भयो । देउवालाई समर्थन गर्दै रामचन्द्र पौडेलले एउटा वक्तब्यको ड्राफ्ट तयार पारे । ड्राफ्ट तयार भईसक्दा प्रदिप गिरि पनि पुगेछन् । गिरिको सुझावमा सो वक्तब्य सम्मेलन केन्द्रमा पौडेलले स्वयं पढेर सुनाउने सहमति भयो । अर्कातर्फ गिरिजाप्रसाद कोईरालाको सक्रियता त छँदै थियो ।

सम्मेलन केन्द्रमा आयोजना गरिएको कार्यक्रममा पौडेल वक्तब्य पढ्न गएनन् । सबैजना उनलाई कुरेर बसेका थिए । देउवाले सोहि दिन १ बजे नरहरि आचार्यलाई फोनमा भनेछन्–’बर्बादै भयो । रामचन्द्र त आएन नि । मलाई धोका दियो उसले ।अब सभापति कसलाई बनाउने ?’

जवाफमा आचार्यले भने–’आफैं हुने ।………आफैं ।’  

देउवाले सोझो परामामा भनेछन–’सभापति र प्रधानमन्त्री एउटै मान्छे भयो भनेर मैले नैं विरोध गर्ने अनि आफैंले पार्टी खोलेर दुवै पद आंफै लिन भयो र ?’

फेरी जवाफमा आचार्यले वि.सं.२००९ सालमा बीपी कोईरालाले मातृकाप्रसाद कोईरालाका विषयमा त्यसै भनको स्मरण गराएछन् । आचार्यले यो पनि स्मरण गराएछन कि ’ २०१७ सालको महाधिवेशनबाट बीपी आँफु सभापति भए प्रधानमन्त्री पनि भएका थिए । राजनीतिमा यस्तो भैहाल्छ ।’

(श्रोतः–’जीवनको पाठशालाः सम्झना र सम्बन्ध’ लेखकःनरहरि आचार्य)

इतिहांस र विरासत जति गर्विलो छ त्यति कै ओजिलो र उज्यालो भविष्यका लागि नेपाली काँग्रेसले सघन छलफललाई अघि बढाएर संघारमा आईपुगेको फुटबाट जोगिन सक्नुपर्छ । आँधि र भूकम्प आउँदा घरको मुल ढोकामा चुकुल लगाएर बस्दैमा न त आँफु सुरक्षित भईन्छ न त घर नै सुरक्षित रहन्छ । घर सुरक्षित भए न आँफु सुरक्षित हुने हो । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी राजनीतिलाई ह्यप्पी इनिङ्गमा टुङ्ग्याउने विषयमा संस्थापन पक्ष सहज भएर निर्णय लिनुपर्ने अवस्था छ । साथमा भविष्य सुरक्षित गर्न काँग्रेसको इतर पक्षले संयमित भएर अघि बढ्ने नीति लिनसक्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button