समाचार

विवाह पञ्चमीः वेडिङ्ग एनिभर्सरीको सङ्गालो

आजकाल तपाईं–हामी सामाजिक सञ्जालमा आफन्तजन, छिमेकी, मित्रजन र सेलेब्रेटीहरूका वैवाहिक ‘वर्षगाँठ’ वा ‘वेडिङ एनिभर्ससरी’का लागि शुभकामना र बधाई दिन्छौँ। अनि भव्य कार्यक्रम मनाउँछौँ, त्यो परम्पराको सुरुवात त्रेता युगदेखिकै हो।
फरक यत्ति हो, त्यसलाई ‘सेलिब्रेट’ गर्ने तौरतरिकाहरू फेरिएका छन्, रित त उही नै हो।
त्यस्तै एउटा संसारको सबैभन्दा ठूलो र निरन्तर मनाइने ‘वेडिङ एनिर्भसरी’का रुपमा रामजानकी विवाह पञ्चमीलाई दर्ज गर्न सकिन्छ। त्यो पनि तथ्य र प्रमाणका आधारमा। यति लामो अवधिसम्म वैवाहिक ‘वर्षगाँठ’ अरु कसैको मनाउने गरेको सन्दर्भ चर्चामा छैनन्।
त्यसमाथि मिथिला एउटा सिंगो सभ्यता पनि हो।
धर्म, संस्कृति, कला, भाषा, साहित्य र राजनीति आफैँमा सबैको मिश्रण पनि हो मिथिला।
मिथिलाको वैभवशाली इतिहास छ। पूर्वीय दर्शनको षड्दर्शनमध्येका ४ दर्शनको जग मिथिला नै हो। न्याय, वैस्यषिक, सांख्य, पूर्व मिमांशा, योग र वेदान्त प्रसिद्धि कमएका दर्शन हुन्। तीमध्ये आचार्य महर्षी गौतमलाई न्याय दर्शन, महर्षी कपिललाई सांख्या दर्शन, महर्षी कणादलाई वैस्यषिक दर्शन र महर्षी जैमिनीलाई मिमांशा दर्शन स्थापित गर्ने श्रेय जान्छ। यी सबै महर्षीहरूको जन्मभूमि मिथिला क्षेत्र नै भएको कथन छ। यस कारण पनि यो एउटा गर्विलो सभ्यता हो।
मिथिलाको राजधानी जनकपुरधाम हो। विष्णुपुराणका अनुसार पूर्वको कौशिकीदेखि पश्चिमको गण्डक क्षेत्रसम्म अनि उत्तरको हिमालयदेखि दक्षिणको गंगासम्मको लगभग बाह्र सय कोशको पवित्र भूमि हो मिथिला।
यही क्षेत्रमा पर्छ मिथिला परिक्रमा पनि। अठारौँ शताब्दीको कृति मिथिला महाकाव्यले मिथिला क्षेत्रको महिमालाई वर्णन गरेको छ। मिथिला क्षेत्रका विषयमा भविष्यपुराणले थप उजागर गरेको छ।
लोक कलाका लागिसमेत प्रसिद्धि कमाएको क्षेत्र हो मिथिला। नेपाल र भारतको ठूलो भू–भाग ओगट्ने पवित्र भूमिका रुपमा लिइन्छ मिथिला क्षेत्रलाई।
केहीबेर यो समयका ‘वेडिङ एनिर्भसरी’का कुरा गरौँ।
मनिसले आजकाल आफ्नो समाजमा मनाउने गरेका वैवाहिक ‘वर्षगाँठ’को पहिलो वर्षलाई ‘पेपर वेडिङ एनिर्भसरी’का रुपमा लिन्छन्। यो परम्परा संसारभरि फैलिँदो छ।
पहिलो वैवाहिक वर्षगाँठलाई एकअर्कालाई बुझ्न र समझदारी कायम गर्नका लागि पहिलो वर्षगाँठलाई धेरै खर्चिलो नगर्ने गरी कागजी ‘वर्षगाँठ’का रुपमा मनाउने प्रचलन छ।
त्यसैगरी पाँचौँ वैवाहिक वर्षगाँठलाई एउटा बलियो समझदारीका साथ अघि बढ्न प्रेरित गरोस्‌ भनेर एउटा रुखको जराजस्तै मजबुत हुँदै जाने विश्वासका साथ ‘वूड एनिर्भसरी’का रुपमा मनाइने गरिन्छ। त्यसपछिका दशौँ वर्षको वैवाहिक वर्षगाँठलाई ‘टीन’ उपमा दिएर मनाउने गरिन्छ।
पन्ध्रौं वर्षको वैवाहिक वर्षगाँठलाई ‘क्रिष्टल’, बीसौँ वर्षको वैवाहिक वर्षगाँठलाई ‘चिनल’, पच्चिसौँ वर्षको वैवाहिक वर्षगाँठलाई ‘सिल्भर’ वैवाहिक वर्षगाँठका रुपमा मनाउने गरिन्छ। एवं रितले जतिजति वर्षहरू बित्दै जान्छन्, उत्तिकै महत्वका साथ केही उपमा दिएर वैवाहिक वर्षगाँठ मनाउने प्रचलन छ।
तिसौँ वैवाहिक वर्ष गाँठ मनाउन ‘पर्ल’ र चालिसौँ वैवाहिक वर्षगाँठलाई मनाउन ‘रबी’ उपमा दिने गरिएको पाइन्छ। वैवाहिक वर्षगाँठको पचासौँ वर्ष मनाउँदा ‘गोल्ड एनिर्भसरी’ भनेर खुसीयाली मनाउने गरिन्छ भने साठिऔँ वैवाहिक वर्षगाँठलाई ‘डायमण्ड’ अर्थात हिरक जयन्तीका रुपमा परिभाषित गर्ने गरिन्छ। त्यसपछिका पनि वैवाहिक वर्षगाँठहरू यसैगरी नै चलिरहन सक्छन्।
चर्चामा रहेको वैवाहिक वर्षगाँठको उत्सव र भूमिकाका लागि म एलिजावेथ टेलर र रिचार्ड वर्टनकोलाई सम्झन चाहन्छु।
मलाई एलिजावेथले १८ वर्षको उमेरदेखि ५९ वर्षको उमेर समयावधिसम्म मनाएको त्यो वैवाहिक वर्षगाँठको भूमिका र पहिरनको अद्भूत विवरण बडो रहस्मयी लाग्छ।
अब मूल विषयतर्फ फर्कौं, साताव्यापीरुपमा मनाइने ‘राम–जानकी विवाह’ महोत्सवमय छ जनकपुरधाम।
त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी जानकी अर्थात्‌ सीताको विवाह भएको दिनका रुपमा यो पर्व पौराणिक कालदेखि नै मनाइँदै आइएको छ। ‘विवाह पञ्चमी’ को तीन दिनअघि भारतको अयोध्याबाट जन्ती प्रस्थान गर्छन्।
मंसिर शुक्ल पञ्चमीका दिन मनाइने यो उत्सव एक सातासम्म धुमधाम हुन्छ।
विवाह पञ्चमीको पहिलो दिन ‘जनकपुर दर्शन’को कार्यक्रम हुन्छ। दोस्रो दिनमा ‘फूलबारी लीला’ आयोजना गरिन्छ। विवाह पञ्चमीको तेस्रो दिनलाई ‘धनुषयज्ञ’का रुपमा मनाइन्छ।
चौथो दिनमा ‘तिलकोत्सव’, त्यसैगरी पाँचौँ दिन ‘मटकोर’का रुपमा उत्सव हुन्छ। छैठौँ दिनलाई ‘शुभ–विवाह’का रुपमा भव्य रुपमा मनाउने गरिन्छ। अन्तिम सातौँ दिनमा ‘राम कलेवा’ गरेर समापन गर्ने परम्परा छ।
यी सबैका अलावा रामजानकी मन्दिरमा श्रीराम कथा, झाँकी प्रदर्शन र रामलीलाको समेत आयोजना भइरहेको छ।
मिथिला सभ्यता र वैदिक सनातन हिन्दू धर्मको पवित्र भूमिका रुपमा चिनिन्छ, जनकपुरधाम। विभिन्न राजा महाराजाबीच युद्ध र राज्य विस्तारको लामो इतिहास छ मिथिलासँग। सयौँ ताल–तलैया र अनेकौँ मठ–मन्दिरले सु–सज्जित जनकपुरधाम यतिबेला रामजानकी विवाह महोत्सव तयारीमा झनै गुल्जार छ।
यसमा नेपाल र भारतको मित्रताको सेतुका रुपमा पनि जनकपुरलाई व्याख्या गर्न सक्नुपर्छ। यति मात्रै होइन, दुवै देशको हितमा यति प्रगाढ सांस्कृतिक र धार्मिक सम्बन्धलाई पुर्नपरिभाषित गर्न सक्नुपर्छ।
अन्तमा, जनकपुरधाम आन्तरिक र बाह्य पर्यटनका लागि गन्तव्य बनाउन भौतिक पूर्वाधारको विकास र यातायातसहित आवासको उचित व्यवस्थापनका लागि ध्यान दिन जरुरी देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button