मास मुभमेन्टका लागि जेन जेडको उभार
स्ट्याण्डर्ड स्कलर रोबरट कार्ज ले सन् २०१७ को सेरोफेरोमा गरेको एक अध्ययन पछी सन् २०२१ मा प्रकाशित ’जेन जेड एक्सप्लेन्डः द आर्ट अफ लिभिङ्ग इन अ डिजिटल एज’ पुस्तकमा जेन जेडका विषयमा गहकिला विषय उजागर भएको पाईन्छ । उक्त अध्ययनमा १८ देखि २५ बर्ष उमेरका करिव २ हजार जेन जेडको धारणा बुझ्ने प्रयास भएको देखिन्छ ।
रोबरट कार्ज एक अन्तरवार्तामा भन्छिन ’सामान्य बुझ्ने भाषामा भन्ने हो भने –एउटा सामान्य जेन जेड व्यक्ति आत्म–प्रेरित हुन्छ,अरूलाई माया गर्छ, विविध समुदायको प्रयासमा जुट्छ, सहयोगी र सामाजिक हुन्छ, लचिलोपन, सान्दर्भिकता, प्रामाणिकता र गैर पदिय ब्यक्तिको नेतृत्वको मूल्यांकन गर्छ, र जलवायु परिवर्तन,वंशानुगत समस्याहरूप्रति निराश भएतापनि ती समस्याहरू समाधान गर्नुपर्ने कामलाई व्यावहारिक दृष्टिकोणले हेर्छ।’
विश्व मानचित्रमा जेन जेड पुस्ताले कुल जनसंख्याको करिब ३० प्रतिशत प्रतिनिधत्व गर्ने विभिन्न अध्ययनहरुले देखाएको पनि छ ।
चरम प्रतिक्रिया पुस्ता जेन जेड हो । आफना आवश्यकताको उच्चतम प्रयोग गर्ने पुस्ताका रुपमा जेन जेड संसारभरी कहलिएको पुस्ताका रुपमा लिन सकिन्छ ।राजनीतिक रुपमा भएका उपलब्धि भन्दा पनि ब्यक्तिगत स्वतन्त्रतामा जेन जी विश्वास गर्छ भन्ने विश्व मानचित्रमा जन जीले पुष्टि गर्न खोजेको देखिन्छ । जेन जेडको नाममा भएका वैश्वक आन्दोलनमा विभिन्न शक्तिको अदृश्य भूमिका रहेको चर्चा पनि ब्यापक छ । खासगरी जेन जेड आन्दोलनमा विभिन्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्था र डिप स्टेटले भूमिका खेलेका समाचारहरु आईरहेको पृष्ठभूमी छ ।
इण्टरनेट,ग्याजेट र विभिन्न समामजिक सञ्जालको प्रयोग नै जेन जेडको मुख्य शक्तिका रुपमा स्थापीत छ ।
मिलेनियल्स अर्थात वाई पुस्ताको म जेन जेडको भावना र आवश्यकतालाई बुझ्न सक्ने स्तर राख्नु चुनौतिपुर्ण छ । किनकी त्यसको दायरा फराकिलो छ । त्यसमाथि निरन्तर सत्तामा रहको एक्स पुस्ताले जेन जेडको आवश्यकतालाई स्विकार्न असहज महशुस गरेको देखिन्छ ।
सरल भाषामा भन्नुपर्दा असमानता,सामाजिक न्याय,ब्यथिति र भ्रष्ट्राचारका विरुद्ध जेज जेड पुस्ता खरो रुपमा उत्रने क्षमता राख्दछन् । भौतिक उपस्थितिलाई इण्टरनेट सञ्जालका माध्यमबाट जेन जेड पुस्ताले सडकमा उतार्न समय लगाउँदैनन् । जो कि एक आपसमा परिचित नभएकाहरुको ठुलो मास मुभमेन्ट बन्छ ।ति एक आपसमा अपरिचित हुने भनेको एक मात्र पहिचान उमेर समुह मात्रै हो ।
संसारभरी जेन जेडको आवरणमा भएका मास मुभमेन्ट के साँच्चिकै स्वतन्त्रता रुपमा उनिहरुको अभियान हो त ? यो विषय पेचिलो छ ।
पुराना सत्ताहरु एकपछी अर्को गर्दै संसारभरी लडखडाउने अवस्थामा देखिन्छन् । खासगरी गरिवि,अशिक्षा,अवसरको खोजी,भ्रष्ट्राचार र राजनीतिक अस्थिरता भएका देशहरुमा जेन जेडको प्रभाव विस्तार भएको घट्नाक्रमले देखाएका छन् । अपवादका रुपमा अन्य देशहरु पनि पर्छन् ।
के जेन जेड पुस्ता अघिल्ला राजनीतिक शक्तिहरुबाट उपलब्ध व्यवस्था प्रति नकारात्मक हुन त ? यो सवालको जवाफ आगामी दिनहरुमा विश्व मानचित्रमा खुल्दै जालान । तर जेन जेड पुस्ता वर्तमानको देशको व्यवस्था प्रति सन्तुष्ट नभएको पक्का हो ।
नेपालमा भदौ २३ र २४ गते भएको जेन जेड पुस्ताको आन्दोलनमा सहभागीहरु सबै जेन जेड पुस्ताका थिएनन् । यद्यपी आन्दोलनको अग्र मोर्चामा जेन जेड थियो । जेन जेडको मुख्य समस्या नेतृत्वकर्ता सामुहिक रहने भएकाले स्पष्ट पात्रले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न चुकेका उदाहरणहरु पनि छन् । नेपालकै हकमा पनि मुख्य जेन जेड पुस्तालाई ओझेलमा पारेरे नयाँ सत्ता बनेको देखाउँछ । सेना सँगको नयाँ सरकार गठनका विषयमा जेन जेड पुस्ता असन्तुष्ट भएको सार्वजनिक भएको थियो ।
नेपालमा भएका व्यवस्था परिवर्तनका विगतका आन्दोलनले समेत विश्वास गरेको न्यायालय प्रति जेन जेड पुस्ताको बलियो विश्वास नरहेको देखिन्छ । त्यसको प्रतिफल सर्वोच्च अदालत र देशभरीका अदालतमाथ तोडफोड र आगजनि भएका थिए । यद्यपि न्यायसेवाबाट निवृत भएकी पूर्व प्रधानन्यायधिस सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन जेन जेड सहमत हुनुले न्याय सेवा र महिला माथि भरोषा गर्न सक्ने अवस्था देखायो । तथापी कार्कीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न विश्वका पर्दा पछाडी रहेका शक्तिको हात छ भन्ने तर्क समेत सतहमा आईसकेका छन् ।
जेन जेड पुस्ताको मुख्य तारो राजनीतिक दलहरु भएका छन् । के जेन जेड पुस्ता दल विहिन व्यवस्था चाहन्छ त ? एउटा धारिलो विषय भईदिएको छ । लोकतन्त्रको उपभोग गर्दै विरोधमा उत्रिएको जेन जेड पुस्ता के दल विहिन शासन चाहन्छ त ? यसको जवाफ स्पष्ट रुपमा आएको देखिंदैन् । तर जेन जेड पुस्ता व्वस्था भन्दा पनि सेवा प्रवाहमा विश्वास गर्छ भन्ने देखाउँछ ।
नेपालमा झण्डै २ दिनमा सरकार परिवर्तन हुने गरी भएको जेन जेड आन्दोलनको मुख्य लक्ष्य के थीए भन्ने कोणबाट बुझ्न जरुरी छ ।
जेन जेड आन्दोलन पछीको सत्ता हस्तान्तरणको बाटो गोलमटोल भईदियो । परम्परागत शक्ति सेना र पर्दा पछाडीका शक्तिहरुसँग जेन जेडका तर्फबाट छलफल गर्ने नेतृत्व स्पष्ट रुपमा अघ नआउँदा जेन जेड आन्दोलनको भावनाको पुर्ण प्रतिनिधित्व हुन नसकेको देखिन्छ ।
प्रधानमन्त्रि के.पी.शर्मा ओलीको राजीनामा पछी उत्पन्न परिस्थितिमा जेन जेडको प्रतिनिधित्वलाई लिएर ठुलो विवाद देखियो । त्यहाँबाट नै जन जेडको माग तल पर्न गयो । जेन जेडका मागहरु डाइभर्ट भए । त्यसको मुख्य कारण जेन जेडले पहिलो पंक्तिमा अघि सारेकाहरु नेतृत्वमा जाने आँट गर्न सकेनन् । त्यही विन्दुबाट नेगोसियशनका प्रक्रिया कम्जोर भए । यद्यपी सरकार परिवर्तन भने भयो । तर के सरकार परिवर्तन मात्रै जेन जेडको आन्दोलनको लक्ष्य थियो त ? अँझ कार्यकारी प्रधानमन्त्री वा राषट्र प्रमुख समेत उनिहरुको मुद्दा रहेको चर्चा चलेको थियो । के त्यसो हुने अवस्था छ त ? वा सम्भावना छ त ? अपेक्षा गरौं यी र यस्ता प्रश्नको जवाफ भविष्यमा आउला नै ।
जेन जेडको आन्दोलनको अर्को मुल विषय भ्रष्ट्राचार सँग सम्बन्धित पनि हो। जो कि सुशासनका नाममा अघि बढ्ने विषय हो । जेनजेड आन्दोलनको मर्म अनुसार स्थायी सरकारका रुपमा रहने कर्मचारी तन्त्रको कार्यशैलीमा बदलाव आउला त ? राजनीतिक नेतृत्वलाई प्रश्न गर्न र विस्थापीत गर्न लोकतान्त्रिक अधिकार छ । तर के ब्युरोक्रेट्स यो विषयमन अछुतो हो त ? यो महतवपुर्ण प्रश्न छ । यसअघि कर्मचारीको कुलिङ्ग अवधिका विषयमा भएको असन्तुष्टिलाई उदाहरणका रुपमा लिन सकिन्छ ।
जेन जेड पुस्ताको आन्दोलन भएपनि ति आन्दोलनका मुद्दामा आम नागरिक सहमत भएपछी नेपालमा यो स्तरको तत्कालाका लागि सरकार परिवर्तन भएको देखिन्छ ।तर राजनीतिक दल र तिनका प्रशिक्षित कार्यकर्ताहरु जेन जेड आन्दोलनलाई आत्मसाथ नगरेको अवस्थामा रहेको देखिन्छ ।
अन्तरिम सरकारले घोषणा गरेको चुनावमा ति राजनीतिक दलहरुले सहभागीता जनाउँछन वा जनाउँदैनन् । यो विषय अँझै अन्यौलमा छ । यदी सहभागिता जनाए भने निकास सहजता उन्मुख होला र कथमकदाचित मुख्य राजनीतिक दलहरुले संसद पुनर्सथापनाको मुद्दा अघि बढाएमा परिस्थिति थप जटिलता तर्फ धकेलिन सक्ने सम्भावना रहला ।
अर्को महत्वपुर्ण विषय नेपालको जेन जेड आन्दोलनलाई विश्व समुदायले जति छिटो स्वकार गर्यो त्यति हत्या र हिंसालाई निरुत्साहित पार्न के कस्ता निर्णय लिन्छन हेर्न बाँकी नै छ ।
के नोलको जेन जेड आन्दोलनले विश्व ब्यापी स्तरको मानव अधिकार र जघन्य अपराध भोग्नु परेन त ? यो प्रश्नबाट के विश्व समुदायमा भाग्न सक्छ त ?
हुन त संसार भरी नै जेन जेड आन्दोलन उत्कर्षमा छ । सत्ता परिवर्तन शान्ति पुर्वक भएका घट्ना विरलै होलान । तर पनि अत्यधिक दमन,हत्या,हिंसा र मानव अधिकारको चरम उल्लङ्नलाई लिएर नेपालको लोकतन्त्र विश्वसनिय रहला त ।
आन्दोलन पछी देशको पर्यटन व्यवसाय,वैदेशिक लगानी जस्ता महत्वपुर्ण पक्ष समग्रमा अर्थतन्त्र कसरी अघि बढ्लान चुनौतिका चाङ्ग देखिन्छन् ।
जेन जेड पुस्ताको आन्दोलनले सरकार परिवर्तन भएपनि सत्ताको परम्परागत श्रोतका रुपमा रहेको सना,प्रहरी,कर्मचारीतन्त्रमा बदलाव ल्याउन सक्ला त ?
जेन जेड पुस्ताको आन्दोलनले राजनीतिक दलहरुका अग्र पंक्तिमा भएका दलका नेतारुलाई ’एक्सपोज्ड’ त गरिदियो । तर त्यसपछीका प्रक्रियागत कारवाहीलाई व्यवस्थापन गर्ने आँट गर्न सक्ला त ? यस्ता कैयौं नीतिगत र सैध्दान्तिक विषयहरूलाई नजरअनदाज गर्न मिल्दैन् ।
अन्तमा,हरेक परिवर्तन पछीको उपलब्धिलाई संस्थागत रुपमा व्यवस्थापन र विकास गर्न नसकेको नेपालको मुल समस्या हो । आशा गरौं यो पटक त्यो विषयमा ध्यान केन्द्रित हुने छ ।




