समाचार

देशमा विवेचना

नेपालको राजनीति पुराना र नयाँ दलहरुबीच ध्रुविकरणको अवस्थामा उद्देलित भईरहेको छ । लोकतान्त्रिक व्यवस्थामा रहेको देशमा कुन राजनीतिक दलहरुले शासन गर्ने भन्ने विषय चुनावले निर्धारण गर्छ । बहुमतले शासन गर्ने र अल्पमत प्रतिपक्षमा बस्ने परिपाटी छँदैछ । लोकतन्त्रको मुल मर्म भनेकै चुनिएकाहरुबाट शासन चल्ने हो । तर समयका कतिपय चक्रमा चुनिएका सत्ता कुनै परिस्थितिमा उल्टिन पनि सक्छन् । त्यस्तै घट्ना हो भदौ २३ र २४ को जेन जेड प्रर्दशन,हताहत र सरकार बदलिनु ।
विघटित संसदका २ ठुला दलहरु प्रमुख दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमाले सहितको संयुक्त सरकार विस्थापीत भएको थियो । त्यही अवस्थामा फर्काउन पुराना दलहरु अदालतको साथ चाहन्छन् । अनि घोषण भएको फागुन २१ चुनावलाई कतिपय पुराना राजनीतिक दलहरु अलि पर धकेल्न चाहन्छन् । उसो त नयाँ दर्ता भएका दलहरु र कतिपय नयाँ पुराना अनुहारहरु मिलेर पुराना दलहरुलाई प्रतिस्थापन गर्ने प्रयासहरु पनि गरिरहेका छन् ।
राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गर्ने होडबाजी खुवै चल्यो । तर मुल धारमा आउनु र वैधता पाउने भनेको ति दलहरुले जनमत कति पाउँछन भन्ने विषयले निर्धारित गर्नेछ ।
वि.सं.२०७९ को चुनाव अघि पनि मुख्य धारका दलहरुलाई चुनौति दिने प्रयास स्वरुप नयाँ दलहरु दर्ता भएर चुनावमा होमिएका थिए । र त्यही चुनावबाट विकल्पको राजनीति भनेर अघि बढेका केही दलहरुले मिठो जनमत प्राप्त समेत गरेका थिए । त्यही सेरोफेरोबाट नेपालमा पुराना दलहरु प्रतिको भाष्य उनिहरु खराव छन भन्ने स्थापीत गर्ने प्रयास भईरहेका छन् । मुलतः काँग्रेस,एमाले,माओवादी र अन्य केही दलहरुले सत्ता सञ्चाल गर्दा भ्रष्टाचार गरेको र सुशासन कायम गर्न नसकेको भनेर जन आक्रोस बढ्दो क्रममा छ ।
जेन जेड आन्दोलनको प्रभाव,चुनाव र सम्भावित नयाँ समिकरणहरुका विषयमा देशमा चर्चा छ । एमाले र काँग्रेस प्रतिको आक्रोसलाई नयाँ दलहरुले क्यास गर्ने रणनीति बनाईरहको अवस्था छ ।
नयाँ राजनीतिक दलहरु,नयाँ नेतृत्व गर्ने आकांक्षा राखेका ब्यक्तिहरु र कतिपय स्वतन्त्र चुनाव जितेकाहरुले आगामी शासन सत्ताको हकदारका रुपमा आँफुलाई स्थापीत गराउने प्रयास गरिरहेका छन् ।
लोकतान्त्रिक परिपाटीमा दल दर्ता गरेर चुनाव लड्न अथवा स्वतन्त्र रुपमा चुनाव लड्ने अधिकार कानुन बमोजिम सुरक्षित छ । मुल रुपमा आसन्न चुनाव र सम्भावित नयाँ नेतृत्व सहित नयाँ दललाई लिएर देशमा वहस चलिरहेको छ । पटक पटक जनमतबाट सत्तामा पुगेका दलहरुप्रति नागरिक स्तरमा वितृष्णा पैदा भएको परिवेश छ। परिणाम नयाँ पात्र नेतृत्वमा पुग्ने र चुनावमा नयाँ दलहरुले अवसर पाउने सम्भावना बढेको देखिन्छ । तर त्यसको अनुपात वा प्रतिनिधित्वमा नतिजा कस्तो आउला चुनाव अघि यसै भन्न सकिन्न् ।
नेपालको प्रजातान्त्रिक आन्दोल,व्यवस्था परिवर्तनका आन्दोल लगाएत अधिकारका लागि भएका आन्दोलनबाट स्थापीत भएका पुराना दलहरुले अपेक्षाकृत समय सुहाउँदो निर्णय लिन नसकिरहँदा नयाँ पनका साथ उदाएका वा उदाउने तरखरमा रहेका पात्र र दलहरुप्रति जनता आशावादी देखिन्छन् ।
सिंहदरबार जलाउनुपर्छ भन्ने विषयमा आलोचना खेप्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र विभिन्न सहकारीको रकम अपचलनको आरोप भोग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई लिएर देशमा विवेचना भईरहेको अवस्था छ ।
यी दुवै पात्र इण्टरनेटमा उपलब्ध सञ्जालमा लोकप्रियताको शिखरमा अघिपछी छन्,साथै उनिहरु माथि आलोचनाको फेहरिस्त पनि छ । मुलतः पुराना राजनीतिक दलहरुले जन अपेक्षालाई सम्बोधन गर्न चुक्दै जाँदा यी लगाएतका केही नयाँ पात्रहरु नगरिक तहमा सम्भावित राजनीतिक नेतृत्वको रोजाईको केन्द्रमा छन् । काठमाडौंमा स्वतन्त्र मेयर जितेका बालेन सापेक्षिक रुपमा कम विवादमा रहेका पात्र हुन् । तर रास्वपा अध्यक्ष लामिछानेका विवादका श्रृखंला अनेक छन् । यि हुँदाहुँदै पनि दुई पात्रको मिलन बिन्दु आसन्न चुनाव हुन गएको देखिन्छ । बालेनको लोकप्रियता र लमिछानेको अघिल्लो चुनावको परिणामको रेकर्डले आसन्न चुनावमा कति सफलता हात पार्ने हो ? यसै भन्न त सकिंदैन तर पुराना दलहरुलाई प्रतिस्थापन गर्न उनिहरुको चुनावी रणनीतिले काम गर्न सक्ने अनुमान बढेको देखिन्छ ।
मेयरको कार्यकाल बाँकी रहँदै बालेन संसदीय चुनावमा होमिन जानु स्वतन्त्र रुपमा उनिलाई मतदान गरेका मतदाताहरुका लागि धोका हुन जाने तर्क समेत सतहमा आउन थालेका छन् । उता लामिछाने शक्ति आर्जनका खातिर नयाँ पनका साथ राजनीतिमा आउनेहरुलाई घण्टी चिन्हमा गोलबद्ध गर्ने रणनीतिमा अघि बढेको देखिन्छ । यदी यी दुई पात्र एक साथ आएर संसदीय चुनावमा जाने हो भने बालेनको लोकप्रियताको लाभ पुरापुर लिन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपी बालेनले महानगरको मेयरको कार्यकाल नसक्दै मेयर पद छाडे भने त्यसको प्रतिक्रिया स्वरुप काठमाडौैका मतदाता रिसाउन सक्ने जोखिमको सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैगरी पछिल्लो समय चर्चामा रहेका अर्का पात्र हुन कुलमान घिसिगं पनि । उनि वहालवाला मन्त्री पनि हुन् । नेपाल विद्युत प्राधिकरणमा राम्रो काम गरेको भनेर लोकप्रियता हाँसिल गरेका घिसिगं दल मार्फत विभिन्न समुहसँग चुनावी रणनीतिमा छलफल गरेर अघि बढीरहेका देखिन्छन् । त्यसैगरी आसन्न चुनावमा देशभरीमा नै जेन जेड उम्मेद्वारहरुको लर्को लाग्ने सम्भावनालाई नकार्न सकिनेछैन् ।
पुराना राजनीतिक दलहरुको रवैया,कार्यशैली र काम गराईबाट असन्तुष्ट भएको जनमतलाई यी र यस्ता पात्र र राजनीतिक दलहरुले अनुकुल रहेको प्रक्षेपण गरिरहेको अवस्था छ । उता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पागं पनि राजनीतिक दल सहित संसदिय चुनावमा अघि बढ्ने मनसाय लिएर अघि बढेका छन् । यसबीच पुराना दलका कुनै बखतका मुख्य हर्ताकर्ता डा.बाबुराम भट्टराई र पुष्पकमल दाहल समेत आसन्न चुनावमा अस्तित्वको लागि मोर्चाबन्दीको प्रयासमा जुटीरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button